वीरगन्ज ।पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एकजना भारतीयलाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको छापामारीबाट प्रहरीले (सट्टाबाजी) अनलाइन जुवा खेलाउने भारतीयलाइ पक्राउ गरेको जनाएको छ ।
प्रहरीको टोलीले भारत विहार जिल्ला मोतिहारी थाना ढाका ग्राम देवपुर निवासी रविशंकर ठाकुरलाइ पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले बताए ।
उनका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा भइरहेको प्रहरीलाइ सूचना आएको थियो, त्यही सूचना अनुसार छापामारी गर्दा ठाकुर पक्राउ परेका हुन ।
प्रहरी नियन्त्रणमा रहेको ठाकुरको साथबाट प्रहरीले बिभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरेको जानकारी दिएको छ ।
पक्राउ परेका ठाकुरमाथि अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।