वीरगन्ज । बाराको नवजन्म सुधार केन्द्रमा १५ अगाडि भर्ना भएका प्रदीपप्रसाद मण्डलले मुर्गा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ ।
बारा प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरुले मृतक मण्डलले मुर्गा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको बयान दिएका छन ।
प्रहरी समक्ष उनीहरुको बयान छ,`अनुशासन भंग गरेका थिए, त्यसपछि उनलाइ शारीरिक सजाय दिने तय भयो । तर उनले त्यो गर्न मानेनन्, त्यसपछि सबै रिसाउँदै कुटन थाले, जुनकारण उनको मृत्यु भयो ।’
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार मृतक मण्डललाई बिहीबार राती अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि भएको कुटपिटले उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले भने, ‘ मुक्काले अनुहारमा कुटपिट गरिएको यथेष्ट प्रमाण नै छ, जसमा मध्यरातमा कोठाभित्र कुटपिट भएको देखिन्छ ।शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।’
उनका अनुसार उनीहरुले त्यो सजायले आफ्नो भाषामा `कन्सिक्वेन्स ´पनि भन्दा रहेछन । यद्यपि, यसको नेपाली अर्थ भने परिणाम हो ।
तर उनीहरुले यसलाइ बेग्लै कोट भाषाको रुपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रमुख तामाङ बताउँछन ।
बारा प्रहरीका अनुसार मण्डललाई दुई साताअघि मात्रै परिवारले नै पुनःस्थापना केन्द्रमा भर्ना गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घाइते मण्डललाई केन्द्रका परामर्शदाताले सुरुमा उपचारका लागि कलैया सिटी अस्पताल लगेका थिए ।
तर त्यहाँ उपचार नहुने भएपछि मण्डललाइ कलैया प्रादेशिक अस्पताल लगिएको उनीहरुको प्रहरीमा बयान छ ।
यही पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
पक्राउ परेका ७ जनामाथि कर्तव्यज्यान कसुरअन्तर्गत सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।