ट्रेन्डिङ

मधेसी जनताको मुक्तिका लागि लड्ने नेतृत्वदायी पार्टी माओवादी हो : प्रचण्ड

महोत्तरी । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको मुक्तिका लागि लड्ने नेतृत्वदायी पार्टी माओवादी रहेको बताएका छन् ।

महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पछिल्लो १८ महिने सरकारमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदानका लागि कानुन बनाउने र सामन्तवादको अवशेषको रुपमा बाँकी रहेको मिटरब्याजपीडितको समस्या समाधानका ऐतिहासिक थालनी गरिएको बताए ।

पार्टी अब मधेशमा केन्द्रित हुने गरी कार्यक्रम बनाएको भन्दै उनले फागुन १२ गतेदेखि हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्ने जानकारी दिंए । यसले पार्टी र जनताबीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउने उनको विश्वास व्यक्त छ ।

व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको प्रचण्डको भनाइ छ । समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको औँल्याए ।

हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने जनाए ।

आफ्नो पार्टीले लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकबाट समजावाद निर्माणका लागि स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणका काम थाल्ने निर्णय गरेको जानकारी गराउँदै उनले पहिले पार्टीले जितेका १२३ पालिकाबाट अभियानकै रुपमा काम थालिने र त्यसपछि ७५३ पालिकामा नै अभियान विस्तार गरिने जिकिर गरे ।

जनयुद्धको उत्कर्षमा देशभर जनसत्ता र जनकम्युन सञ्चालन गरेको स्मरण गराउदै उहाँले विगतका अभ्यासको अनुभवबाट सिकेर त्यसलाई परिस्कृत गर्दै अब सामाजिक सहकार्यका अभियान निर्माणमा पार्टीले योजना र कार्यक्रम बनाउने बताउनुभयो।

आम उत्पीडित जनताको मुक्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने आफ्नो पार्टी भए पनि केही वर्ष यता पुराना शक्तिहरुसँगको सहकार्यले आफ्नो वर्ग र समुदायबाट टाढा हुँदै गएकाले अब पछिल्लो केन्द्रीय समिति बैठकपछि पार्टी पुनः आफ्नै वर्ग र समुदायमा फर्कने अभियानमा अघि बढेको बताए ।

जनकम्युनको अभ्यास गर्न २०५९ माघ २५ गते सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास भन्ने मूल नाराका साथ आधारशीला स्थापना भएको थियो । यो कम्युनमा हाल १६ परिवारको सामूहिक बसोबास र सहकार्य रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै