ट्रेन्डिङ

जनकपुरको मुस्कान अस्पताल बन्द गर्न निर्देशन, आदेश अवज्ञा गरे कारवाहीको चेतावनी

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुधामस्थित मुस्कान अस्पताल बन्द गरी चाँबी बुझाउन निर्देशन दिएका छन् ।

पिराडीचोकमा रहेको उक्त अस्पताल अवैध ढङ्गले सञ्चालनमा रहेको जानकारी पाएलगत्तै यस्तो निर्देशन दिएका हुन् ।

मापदण्डविपरित सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर हेलचेक्रयाइँ भएको खबर सार्वजनिक भएपछि शुक्रबार राति अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले अनुमतिबिनै अस्पताल सञ्चालनमा रहेको पाएका थिए । त्यसपश्चात अस्पतालमा उपचाररत बिरामीलाई तत्काल अन्य अस्पतालमा पठाउन र शनिबार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर प्रदेश सरकारलाई साँचो बुझाउन निर्देशन दिएका हुन् ।

आदेशको अवज्ञा गरे प्रदेश सरकार अस्पताल सञ्चालकविरुद्घ कडा कारबाहीमा उत्रिने उनको चेतावनी छ । सर्वसाधाराणको स्वास्थ्यमाथि खेलवाड गर्ने कार्य सह्य नहुने उनको भनाई छ ।

अस्पतालमा हाल तीनजना बिरामी भर्ना छन् । यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेकी समाचार सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री सिंहले गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

मुख्यमन्त्री सिंहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गर्दा सञ्चालकसँग भेट नहुँदा फर्केका थिए । पहिलोपटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए ।

दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका उनले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए ।

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गरी स्वीकृति लिन मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दा समेत सञ्चालकहरूले अटेर गर्दैआएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै