वीरगन्ज । बारा प्रहरीले भन्सार छलीको आशंकामा सामानसहितको गाडी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाका फरकफरक स्थानबाट सामानसहित गाडी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरी टोलीले ६४ लाख २२ हजार ४५० मूल्य बराबरका सामानसहितको ट्रक तथा पिकअप पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनका अनुसार प्रहरीले चलाएको जाँच अभियानका क्रममा गाडीहरुलाई रोकेर जाँच गर्ने क्रममा बिल भरपाई भन्दा बढी र स्रोत खुलाउन नसकेकाले सामानसहितको गाडीहरु पक्राउ गरिएको हो ।
प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज चोकबाट ना ६ ख ८३०५ नम्बरको ट्रक पक्राउ गरेको हो । वीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको उक्त ट्रकबाट ४१ लाख ८६ हजार ३ सय रुपैँयाको लत्ताकपडा, टायर, लिड लाइट, चिनी लगायतका सामान बरामद भएको उनले बताए ।
यसैगरी सोही ठाउँबाट प्रहरीले वीरगन्जदेखि काठमाण्डौँका लागि छुटेको प्र २–०३–००१ च ०७७५ नम्बरको पिकअप पक्राउ गर्यो । पिकअपलाई जाँच गर्दा लोड रहेका २१ लख ७४ हजार ८०० रुपैँया बराबरका ४७ बोरा ब्रास युटेनसिलको बिल शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यस्तै जीतपुरसिमरा–१ पथलैया चोकबाट गौरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख १४६३ नम्बरको बसबाट ६१ हजार ३५० बराबरका ४ कार्टुन चार्जर र डाटाकेवल बरामद भएको प्रहरीले जनायो ।
पक्राउ गरिएका सामानसहितको गाडीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।