जनकपुर । ‘हाइप्रोफाइल’ दबाबमा सप्तरी प्रहरीले ठगी मुद्दाका अभियुक्तलाई हिरासतबाट छाडेको छ ।
बुधबार विहान पक्राउ परेका ठगी मुद्दाको अभियुक्तलाई १० घण्टा नबित्दै प्रहरीले छाडेको हो ।
‘फेन्ट’ भएको बहाना देखाउँदै प्रहरीले हाइप्रोफाइल दबाबमा ठगी मुद्दाका अभियुक्त बैद्यनाथ यादवलाई छाडेको जनाइएको छ ।
सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले पत्रकार यादवको स्वास्थ्यमा समस्या आएको कारणले रिहा गरेको पुष्टि गरेका छन्।
उनका अनुसार उनको स्वास्थ्यमा समस्या आएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
उनी भन्छन्, ‘यहाँको अस्पतालले थप उपचारको लागि भन्यो, त्यसपछि हामीले त्यही अनुसार उपचारको लागि जिम्माजमानीमा छाडेका हौं । उपचारपछि पुनः हाजिर हुने शर्तमा रिहा गरिएको हो ।’
प्रहरीलाई जिम्माजमानीमा अभियुक्तलाई छाडने भएको कानुनी व्यवस्था अनुसार पत्रकार यादवलाई छाडिएको डिएसपी बस्नेतको तर्क छ ।
तर एक प्रहरी अनुसार हाइप्रोफाइल राजनीतिक दबाबमा मुद्दा दर्ता रहेको अभियुक्तलाई बहाना देखाएर रिहा गरिएको छ ।
नाम नराख्ने शर्तमा एक प्रहरी अधिकारीका अनुसार पत्रकार यादवको स्वास्थ्यमा खासै समस्या आएको थिएन, तर सबैतिर ‘सेटिङ’ गरेर विरामी भएको देखाइयो । त्यसपछि त्यही बहानामा उनलाई रिहा गरिएको उनी बताँछन् ।
पीडितहरुका अनुसार पक्राउ परेका पत्रकार यादव जनता समाजवादी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको नजिकका हुन ।
उनै यादवको दबाबमा अभियुक्तलाई छाडिएको हुन सक्ने उनीहरुको आरोप छ । तर यो बारेमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले भने आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘मलाई यो विषयमा जानकारी पनि छैन, अरु के भएको हो त्यो थाहा पनि छैन ।’
सप्तरी जिल्लामा सर्वसाधारणको रकम लिएर लिएर पैसा छाप्ने मेसिनबाट ‘डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पत्रकार यादव र रामहादुर भन्ने हनुमानी रजक पक्राउ परेका हुन ।
हनुमानी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी हुन भने पत्रकार यादव त्यहाँको पत्रकार महासंघको पूर्वउपाध्यक्ष हुन ।
पत्रकार यादवमाथि ठगी तथा अपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको सप्तरी प्रहरी प्रवक्ता बस्नेतले बताए ।
पक्राउ परेका पत्रकारसहित हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाएका छन् ।
अहिलेसम्म यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
ठूलो गिरोह बनाएर ठगी धन्दा चलाइरहेको देखिएकोले प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान गरेर दुबैजनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार करिब दश वर्ष अगाडिदेखि सप्तरीमा यो धन्दा चलिरहेको छ ।