बीरगंज । नेपाल र भारतको सीमा रहेका सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगनको काम शुरु भएको छ ।
दुबै देशका अधिकारीहरुको सहभागितामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन शुरु गरिएको सशस्त्र प्रहरी १३ नं.गणका सूचना अधिकारी सशसत्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए । बीरगंज महानगरपालिकाको वडा नं १६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको पन्टोका ग्रामपंचायत ४ सुन्दरपुर स्थित रहेको सानो सीमा स्तम्भ नम्बर ३९१र६ को मर्मत तथा रंगरोगन गरिएको हो ।
नेपालतर्फबाट, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रंग रोगनको शुरुवात गरेका हुन । सो अवसरमा सशस्त्र प्रहरी बल १३ नं.गण पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप – अनुसन्धान निर्देशक दिलिप कुमार सिँह, नापि विभागको प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सुवास भट्ट, सीमा सुरक्षा बलका सशस्त्र प्रहरी नायव उपरिक्षक लोकेन्द्र सुब्वाको समेत उपस्थितिमा सीमा स्तम्भ मर्मत तथा रंगरोगन कार्य शुरु भएको हो ।
उक्त मर्मत कार्यमा भारतिय समकक्षीको तर्फबाट ४७ औ बाटालियन पन्टोकाका कमाण्डर एसी अत्तम कुमार घोष सहित ४ जनाको सहभागिता रहेको थियो । सन २०१४ पछि निर्माण भएका बिजोर नम्बरका सीमा स्तम्भलाई सशस्त्र प्रहरीले मर्मत तथा रंगरोगन गर्दै आइरहेको छ ।