ट्रेन्डिङ

सप्तरीमा पैसा ‘डबल’ गरिदिने नयाँ ठगी धन्दा, पत्रकारका पूर्वउपाध्यक्ष बैद्यनाथसहित दुइजना पक्राउ

जनकपुर । ‘पैसा डबल’ गरिदिने ठगी धन्दा चलाएको आरोपमा सप्तरीबाट एक जना पत्रकारसहित दुइ जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै प्रलोभनमा पारी ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष बैद्यनाथ यादवलाई तिलाठीबाट आज बिहान पक्राउ गरेको जनाएको छ । उनीमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले पक्राउ गरिएको सप्तरी प्रहरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले पुष्टि गरे ।

दर्जनौं मान्छेहरुले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेर सुक्ष्म अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

यसअघि पनि पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । धन्दाका नाइकेसमेत रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।

पक्राउ परेका पत्रकार तथा नाइकेविरुद्ध १३ वटा प्रहरीमा जाहेरी परेको उनको भनाइ छ । उनका अनुसार यो गिरोहले दश वर्षदेखि सप्तरीमा पैसा डबल गरिदिने भन्दै ठगी धन्दा चलाइरहेका थिए । अहिलेसम्म परेको जाहेरीमा यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ ।

कसरी चल्थ्यो ठगी धन्दा ?

सप्तरी प्रहरीका अनुसार यो धन्दाको सुरुवात करिब दश वर्ष अगाडिदेखि भइरहेको छ । पत्रकार र नेताहरुसहितको गिरोह बनाएर नौलो ठगी गर्ने योजनाका साथ धन्दा सुरुवात गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार त्यही योजनाअनुसार उक्त गिरोहले आफूहरुसंग पैसा छाप्ने मेसिन रहेको भन्दै सुरुमा प्रचार गरे, त्यसपछि पैसा ठग्न थाले ।

डबल पैसा पाउने लोभमा ठगिएका भरत ठाकुरका अनुसार सुरुमा यो गिरोका मान्छे सर्वसाधारणको घरमा जान्थे । उनी भन्छन्, ‘आफूहरुसंग पैसा छाप्ने मेसिन छ, त्यसमा केमिकलको प्रयोगबाट पैसा डबल बनाइन्छ भन्दै जालमा फसाइन्थ्यो । रकम बढी आइसकेपछि पैसा छाप्ने मेसिनको केमिकल सकिएको छ, आउन केही समय लाग्छ भन्दै त्यसपछि उनीहरु बहाना बनाउन सुरु गर्थे ।’ उनका अनुसार जब पैसा माग्न गइन्थ्यो, तब उनीहरुले झन उल्टै धम्काउँथ्यो ।

उनका अनुसार प्रहरी प्रशासन, नेता गुण्डाहरु सबै आफ्नो गोजीमा रहेको भन्दै उल्टै हामीलाई हप्कीदप्की आउँथ्यो ।

प्रहरी प्रवक्ता बस्नेत भन्छन्, ‘गिरोहले सुरुमा सर्वसाधारणसंग कम पैसा लिन्थ्यो, केही समयपछि त्यसलाई डबल गरेर फिर्ता गरिदिन्थ्यो । जुनकारण सर्वसाधारण विश्वस्त हुन्थे । त्यसपछि ती व्यक्ति फेरि लोभमा परेर लाखौं रुपैया दिन्थे । अनि जब बढी पैसा आउँथ्यो, त्यो पैसा भने उनीहरुले गायब बनाइदिन्थे ।’

उनका अनुसार तर उक्त गिरोहले पैसा लिँदा भने कुनै प्रमाण दिदैन्थ्यो, जुनकारण सर्वसाधारणहरु बिचल्लीमा पर्थे । तर धेरैको जाहेरी आइसकेपछि प्रहरीले थालेको अनुसन्धानमा उक्त गिरोह धेरै जनासंग ठगी गरेको पाइएको उनी बताउँछन् । यसरी नै उनीहरुले लामो समयदेखि जिल्लामा ठगी धन्दा चलाइरहेको पाइएको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै