ट्रेन्डिङ

रौतहट प्रहरीको ६ महिने प्रगति विवरण : अढाई करोडको सामानसहित ६६ तस्कर पक्राउ, कति मुद्दा फछ्र्यौट ?

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो ६ महिने प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले बिहिबार गत साउनदेखि पुष मसान्तसम्मको आफ्नो काम कारबाही सार्वजनिक गरेको हो ।

उक्त अवधिमा प्रहरीले अढाई करोड रुपैयाँ बराबरको अवैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको जनाएको छ । भारतीय बजारबाट भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको विभिन्ने सामान पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरेको जनाइएको छ ।

रौतहटका एसपी दीलिप घिमिरेका अनुसार प्रहरीले तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान,४ थान ई रिक्सा, १०८ थान मोटरसाइकल, १४ थान साइकल फेला पार्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

यसैगरी हुण्डी कारोबारबाट १५ लाख रुपैयाँ सहित ३ जना मानिसलाई पक्राउ गरेको छ । प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकल र चोरीमा संलग्न २४ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्दा दर्ता भएको मध्ये ५ वटा फछ्र्यौट भएको छ । त्यस्तै जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फछ्र्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्दा दर्ता भएको र १६ वटा फछ्र्यौट भएको थियो ।

लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फछ्र्यौट, गत आवको सोही अवधिमा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फछ्र्यौट भएको थियो । त्यसैगरी हात हतियार खरखजाना सम्बन्धी ६ वटा मुद्दा दर्ता भएकोमा ५ वटा फछ्र्यौट भएको छ । चालू आवको ६ महिनामा चोरी सम्बन्धी ३८ मुद्दा दर्ता र सबै फछ्र्यौट गत आवको सोही अवधिमा ३५ वटा मुद्दा दर्ता तथा फछ्र्यौट भएको थियो ।

मुद्रा सम्बन्धी ४ वटा मुद्दा दर्ता र सबै फछ्र्यौट भएको छ । राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अवैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त कारबाही बाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको थियो।

रौतहट स्थित ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम विपरीत चलेका सवारी साधन लाई गरेको कारबाही बाट ६८ लाख २४ हजार ५ सय राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै