ट्रेन्डिङ

पर्सामा साढे ३८ हजार बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइदैँ

वीरगन्ज । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पर्साका साढे ३८ हजार भन्दा बढी छात्रालाई लगाइँदैछ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रम अर्न्तगत यही माघ २२ गतेदेखि ६ फागुनसम्म छात्राहरुका लागि एकैपटक यो खोप अभियान सञ्चालन गर्दैछ । अभियान अर्न्तगत पर्साका ३८ हजार ६८६ जना किशोरीलाई यो खोप लगाइने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका खोप अधिकृत जयमोद ठाकुरका अनुसार विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिरका गरी ती सङख्याका किशोरीहरुलाई एचपीभी खोप लगाइनेछ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको उनले बताए ।

कार्यक्रम अर्न्तगत विद्यालयमा अध्ययनरत ३१ हजार १६० र विद्यालय बाहिर रहेका सात हजार ५२६ गरी ३८ हजार ६८६ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान चलाउन थालेको हो ।

विद्यालयभित्रका कति ?

कार्यालयका अनुसार जिल्लास्थित १४ वटै स्थानीय तहका छात्रालाई एचपीभी खोप लगाइने योजना छ । जसअनुसार ती सबै पालिकाका कक्षा ६ देखि १० कक्षासम्ममा छात्राहरुलाई खोप लगाइने खोप अधिकृत ठाकुर बताउँछन् ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी वीरगन्ज महानगर अर्न्तगतका विद्यालयमा अध्ययनरत छात्राहरुलाई यो खोप लगाइनेछ । यहाँ १४ हजार ५२० जना छात्रामा यो खोप दिइने कार्यालयको लक्ष्य छ ।

यसैगरी बहुदरमाइ नगरपालिकाका दुइ हजार २१६, बिन्दबासीनी गाउँपालिका एक हजार ४०३, छिपहरमाई गाउँपालिका एक हजार १२३, धोबीनी गाउँपालिका एक हजार २४६ जनालाई खोप दिइनेछ ।

यस्तै जगरनाथपुर गाउँपालिकाका ८६४, जिराभवानी गाउँपालिका एक हजार २१, कालिकामाई गाउँपालिका एक हजार ४१२, पकाहामैनपुर गाउँपालिकाका ९४६, पर्सागढी नगरपालिकामा एक हजार ३७५ जनालाई एचपीभी खोव लगाइदैँछ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिकाका एक हजार २२८, पोखरीया नगरपालिका एक हजार ५१२, सखुवाप्रसौनी गाउँपालिका एक हजार ५३१ र ठोरी गाउँपालिकाका ७६३ गरी जम्मा ३१ हजार १६० जना छात्रालाई यो खोप लगाउने लक्ष्य लिएको ठाकुरको भनाइ छ ।

विद्यालय बाहिरका कति ?

जिल्लाको १४ वटै पालिकामा विद्यालय भन्दा बाहिरका किशोरीहरुलाई समेत एचपीभी खोप लगाउने लक्ष्य छ । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने तयारी गरिएको छ ।

कार्यालयका अनुसार बहुदरमाईमा ६४३, बिन्दबासीनी २७९, वीरगन्ज तीन हजार ७, छिपहरमाई ३२६, धोबीनी २९०, जगरनाथपुरमा ४६५ जनालाई खोप दिइनेछ ।

यसैगरी जिराभवानी ३४५, कालिकामाई २३१, पकाहामैनपुर २२४, पर्सागढी ५७२, पटेर्वासुगौली २३२, पोखरीया ४४२, सखुवाप्रसौनी ३४३ र ठोरीका १२७ गरी कुल सात हजार ५२६ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै