वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शिविर सम्पन्न भएको हो ।
संसारीमाई धर्मशालामा आयोजित शिविरमा एक सय ४० जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शनिबार निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए ।
पार्टीले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई मध्यनजगर गर्दै आँखा चेकजाँचको अभियान सुरु गरिएको बताए । ग्रामिण इलाकाका नागरिकहरु स्वस्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच सुरु गरिएको उनले जनाए ।
उनका अनुसार यो अभियान निरन्तर चल्नेछ ।