ट्रेन्डिङ

पर्सासहित मधेसमा आजदेखि चिसो बढ्यो, के छ पूर्वतयारी ?

वीरगन्ज । मधेसमा आजदेखि चिसो बढेको छ । पर्सासहित तराइका जिल्लाहरुमा सोमबारदेखि चिसो बढेको हो ।

मौसममा आएको बदलावका कारण तापक्रम घटेर चिसो बढेको मौसमविदहरु बताउँछन् । वीरगन्जमा हिजोसम्म दिउँसो घाम लागेकोको थियो ।

तर आज एक्कासी मौसममा आएको बदलावसंगै मौसम धुम्म भएको छ । चिसो बढेर मौसम धुम्म भएसँगै स्थानीय घूर, दाउरा, पराल बालेर आगो ताप्न सुरु गरेका छन् । चिसोबाट सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार प्रभावित बनेका छन् ।

शीतलहरका बेला न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा, तातो र पोषिलो खानाको अभावमा विपन्न समुदायको जनजीवन कष्टपूर्ण बनेको हुने गरेको छ ।

हरेक जाडोयाममा विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरुलाई चिसोबाट निकै पीडित हुने गर्दछन् । वीरगन्ज भिस्वा निवासी ८० वर्षीया शान्ता लामाले चिसोले श्वासप्रश्वासमा समस्या हुन थालेको बताइन् । घाम नलागेर चिसो हुँदा जाडोले सिरक ओढेर मात्र बस्न मन लागेको उनी सुनाउँछिन् ।

के छ पूर्वतयारी ?

विपन्न परिवारलाई शीतलहर र चिसोबाट बचाउँन तयार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले विपद् व्यवस्थापन गर्न एक महिना अघि नै पूर्वयोजना बनाइ लागू गरिएको बताए ।

उनी भन्छन्, ‘हामीले विपद् पूर्वतयारीका लागि पूर्वयोजना बनाएका छौँ । सोही योजनाअनुसार कार्य गरिरहेका छौँ । चिसोबाट हुनसक्ने क्षतिका विषयमा सर्वसाधारणलाई जनचेतना जगाउने, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छौँ ।’

जिल्लाका हरेक पालिकाहरुमा चिसोबाट प्रभावित हुन सक्नेहरुका लागि न्यानो बाड्न निर्देशन दिइसकेको उनले बताए । उनका अनुसार ज्येष्ठ नागरिक, दलित, विपन्न र सीमान्तकृत समुदायलाई न्यानो कम्बल तथा सिरक वितरण गर्ने कार्य भइरहेको छ । यस्तै वन कार्यालयहरुसँगको समन्वयमा पालिकाहरुमा दाउरा पठाइएको छ ।

यस्तै जाडोका प्रभावित बिरामीहरुका लागि नाारायणी अस्पतालमा औषधी सुनिश्चित गर्न, डेस्क स्थापना गरी सेवाग्राहीहरुलाई तत्काल सेवा उपलब्ध गराउन, कसैलाई लगाउने कपडाको आवश्यक परे कपडा बैँकमा सम्पर्क गर्न लगायतका निर्णयहरु गरी कार्यान्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै