वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले साढे २२ लाखभन्दा बढी रुपैँयाका सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले वितेको पाँच दिनको अवधिमा बरामद सवारीसहित सामानहरु भन्सार कार्यालयमा बुझाएको हो ।
विशेष सूचनाको आधारमा जिल्लाका फरकफरक स्थानहरुबाट २२ लाख ६९ हजार ४३० रुपैँया बराबरका सवारीसहित सामान पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरीको छुट्टाछुट्टै बेस क्याम्पबाट खटिएको टोलीले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।
उनका अनुसार बरामद सामानहरुमा चकलेट, लत्ताकपडा, किराना, मोटरपार्टस, जुत्ताचप्पल, लसुन, केराउ सहित ट्याक्टर तथा मोटरसाइकल समेत छन् ।
सशस्त्र प्रहरीले १० लाख मूल्यका चकलेट र ना १ ज ७८४५ नम्बरको म्याजिक गाडी, ३ लाख ६८ हजार ६८० का कपडा, किराना, मोटरपार्टस, जुत्ताचप्पल, ३० हजार ७५० का लसुन नियन्त्रणमा लिएको छ ।
यसैगरी तीन लाख ४५ हजार मूल्यका ३ वटा मोटरसाइकल, एक लाख २५ हजारका केराउ तथा चार लाख बराबरको ना १ त ७२२५ नम्बरको ट्याक्टर बरामद गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।