ट्रेन्डिङ

हड्डी उद्योगबाट निस्किएको स्यालले टोक्दा वीरगन्जमा ६ जना घाइते, सिडिओ अर्यालले उद्योगीलाई दिए पाँच बुँदे निर्देशन

निर्णयप्रति स्थानीय असन्तुष्ट

वीरगन्ज । वीरगन्ज महानगरपालिका स्थितको एक हड्डी उद्योगबाट निस्किएको स्यालले टोक्दा ६ जना घाइते भएका छन् ।

महानगरको वडा नम्बर– १८ सौराह टोलस्थित मध्यमाञ्चल बोन इन्डस्ट्रिज (हड्डी) उद्योगबाट निस्किएको स्यालले टोक्दा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा स्थानीय प्रभु पटेल, जीवत ठाकुर तथा वडा नम्बर २७ का राकेश यादव, गायत्री देवी, रामप्रसाद यादव र श्रीकृष्ण पटेल रहेका प्रहरीले जनाएको छ ।

स्यालले टोक्दा उनीहरुको हात, खुट्टा तथा पेट तथा छातीमा चोट लागेको छ । घाइते सबैको अवस्था सामान्य रहेको तथा तत्कालै स्थानीय अस्पतालमा उपचार भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैबिच घटनाबारे मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पाँच बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको अध्यक्षतामा बसेको मध्यमाञ्चल बोन इन्डष्ट्रिज प्रालि र वीरगन्ज बोन इन्डष्ट्रिज प्रालिको सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी बैठकले पाँच बुदेँ निर्णय गरेको हो ।

प्रशासनसँग भएको पहिलो निर्णय अनुसार घाइतेहरुको उपचार सोही कारखानाले गर्ने सहमति भएको छ ।

यसैगरी उद्योग वरपरका क्षेत्रमा तारवार वा जाली लगाउनुपर्ने, केमिकलको मद्दतबाट उद्योगबाट निस्किने दुर्गन्ध हटाउने, उद्योग क्षेत्रमा सीसीटिभी क्यामरा जडान तथा स्थानीयको स्वास्थ्य र सामाजिक क्षेत्रको लागि उद्योगले निश्चित रकम छुट्याएर सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नुपर्ने लगायतका निर्णय भएको सिडिओ अर्यालले जानकारी दिए ।

यता सिडिओसँग भएको निर्णयमा पीडितहरुले भने असहमति जनाइरहेका छन् । सिडिओ अर्यालको इच्छाअनुसार पीडितहरुको विपक्षमा निर्णय गराइएको उनीहरुको आरोप छ ।

एक स्थानीयका अनुसार सिडिओ कार्यालयले ‘फैक्ट्री’संगको मिलोमतोमा घाइतेहरुको सहमतिबिनै सम्झौता गराएको छ । ‘उद्योगको लापरबाहीका कारण थुप्रै स्थानीय घाइते भएका छन्, धेरै चोट लागेको छ । यो घटनामा सिडिओ कार्यालयमा बैठक पनि बस्यो, तर त्यो बैठकमा पीडितहरुको उपस्थिति गराइएन, स्थानीय नरेश यादवले भने, ‘ सिधै निर्णय नै भएको सुनाइयो, जसमा हाम्रो असहमति छ, किनभने यो उद्योगको फाइदाका लागि गरिएको सहमति हो ।’

सिडिओको उद्योगीसंगको मिलोमतो भएका कारण यस्तो सहमति भएको स्थानीय यादव बताउँछन् । तर यो सम्झौतामा हाम्रो कुनै सहमति नरहेको उनको भनाइ छ ।

असन्तुष्ट स्थानीय (भिडियो)

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै