ट्रेन्डिङ

रौतहटको कटहरिया नगरपालिका कार्यालयमा तालाबन्दी

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

घर घरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई भएको निर्णय बदर हुनुपर्ने माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरूले मङ्गलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेको हो ।

सो क्रममा मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरिएको छ । मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन् ।

मेयर जैसवालको निर्देशनमा गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो । बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति जुटेन ।

बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरूले उपस्थितिमा हस्ताक्षर गरेका थिए । तर सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताइन् ।

उक्त सूचना अनुसार पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन् फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताइन् ।

यसैबिच मेयर जैसवालको इसारामा गत मङ्सिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यहरूसँग हस्ताक्षर गराउने खेल भइरहेको उपमेयर यादवले जानकारी दिइन्।

तालाबन्दीपछी जनप्रतिनिधिहरूले सञ्चारकर्मी सँग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरू सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरूको घर घरमा राती राती लागेर हस्ताक्षर गराइरहेको बताएका छन्। हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै