सप्तरी । स्कारपीयोको ठक्करबाट सप्तरीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।
बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर बस्ने मोहम्मद कोराइस अलि रहेका छन् ।
सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बरको भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ११ बस्ने महम्मद सदाम गम्भीर घाइते भएका छन् । उनको स्थानीय जीवनज्वति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने स्कारपिओलाई इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्कारपीओका चालक फरार रहेको तथा उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।