काठमाण्डौँ । चिनीको अनाधिकृत आयात तत्काल रोक्न सरकारसँग माग गरिएको छ । नेपाल चिनी उद्योग संघले यस्तो गरेको हो ।
स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै खुला सीमाका कारण भइरहेको अनधिकृत आयात रोक्न संघले माग गरेको हो ।
संघले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौज्दात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराउँदछौं ।’
खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको संघको ठहर छ ।
चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने संघको भनाइ छ ।