धनुषा । गहुँखेतीका लागि मधेसका दुइ जिल्लामा डीएपी मल अभाव भएको छ । प्रदेश राजधानीसहित दुइ जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको हो ।
धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको बताइएको छ ।
दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेको कृषि कम्पनी जनकपुरका निमित्त प्रमुख वेचनकुमार साह बताउँछन् । उनका अनुसार पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए । हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको जनाइएको छ ।
थप डीएपी मल माग गरिएपनि प्राप्त नभएको प्रमुख साहले बताए । अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उनको भनाई छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डिएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।