बीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाका वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाका पाँच वटा वडाका वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाको कार्यालयमा विभिन्न सामानहरु माग गर्दै वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका जनाइएको छ । पालिकाको १,२,३,४ र ५ गरी पाँच वटा वडाका अध्यक्षहरुले बिहिबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
नगरपालिकासँग आवश्यक सामानहरु माग गर्दा समेत नपाएपछि कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको वडा नम्बर ५ का अध्यक्ष सुनिल कुशवाहाले बताए ।
उनका अनुसार वडा कार्यालयहरुका लागि नगरपालिकासँग जिन्सी सामान, प्रिन्टर, औषधी तथा कागजात माग गरिएको थियो । तर नगरपालिकाले आफूहरुको माग पूरा नगरेपछि त्यसको विरोधमा आन्दोलन सुरु गर्नुपरेको उनी बताउँछन् ।
बहुदरमाई नगरपालिकाको नगरसभा कात्तिक ८ गते सम्पन्न भइसक्दा समेत मेयर सिंगासन सा तेलीले वडाध्यक्षहरुलाई बजेटको अख्तियारी दिएका छैनन् ।
चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरी भत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।
यसैगरी मेयर तेलीले अख्तियारी नदिदाँ लामो समयदेखि शिक्षक तथा कर्मचारीहरुले तलब भत्ताबाट समेत बञ्चित हुनुपरेको छ ।