किन प्रभावित भयो आन्तरिक हवाई उडान ?

वीरगन्ज । मुलुकको आन्तरिकतर्फ हवाई उडान सामान्य प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएपछि हवाई उडान सामान्य प्रभावित हो ।

काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको जनाइएको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन नसकेको बताए ।

उनका अनुसार मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । तर सुगम क्षेत्रमा भने विमानस्थलको उडान नियमित रहेको उनको भनाइ छ ।

काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन ।

काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहँदा पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै