वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पर्सा जिल्ला सभापति हरि पन्तले पत्रकारका माग पार्टी सभापतिसमक्ष गम्भीरतापूर्वक पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ पर्साले आइतबार रास्वपा जिल्ला पार्टी कार्यालयअगाडि आयोजना गरेको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सांसद पन्तले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
महासंघले उठाएका मागप्रति आफू सकारात्मक रहेको बताउँदै उनले ती माग आजै पार्टी सभापतिसमक्ष पुर्याउने बताए ।
सरकार पत्रकारप्रति अनुदार नरहेको स्पष्ट पार्दै पन्तले लोकतन्त्रलाई बलियो बनाउने सञ्चार क्षेत्र र यसका संस्थाहरूको संरक्षणका लागि आफूले सक्ने सबै प्रयास गर्ने आश्वासन दिए ।
महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रास्वपा कार्यालयअगाडि धर्ना दिएको हो ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको जनाएको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको महासंघको भनाइ छ ।
धर्ना कार्यक्रममा महासंघ पर्साका सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राखेका थिए ।