वीरगन्ज । १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म पटक–पटक जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन् ।
उनलाई बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
बारा प्रहरीका अनुसार अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाईफकाई तथा डरत्रास देखाएर अपहरण गरेका थिए ।
अपहरण गरी कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि अन्सारीले बालिकालाई बसमा चढाएर काठमाडौंको वनस्थली पुर्याई कोठामा राखेको र त्यहाँ समेत पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको विवरणमा उल्लेख छ ।
प्रहरीका अनुसार बालिकालाई करिब १० दिनसम्म बन्धक बनाएर राखिएको थियो ।
परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो ।
त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतले अन्सारीलाई ६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका अन्सारीलाई बुधबार पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा पेश गरिएको प्रहरीले जनाएको छ ।
अदालतको आदेशअनुसार उनलाई कारागार कार्यालय वीरगन्ज, पर्सामा पठाइएको छ ।