ट्रेन्डिङ

पर्सामा प्रहरीको ‘स्पेसल’ सेवा, पर्यटकले अब किन स्क्यान गर्नुपर्छ क्यूआर कोड ?

वीरगन्ज ।पर्सा प्रहरीले पर्यटकहरुको सहजताका लागि “स्पेसल” सेवा सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पर्यटकको सहजता, सुरक्षा तथा पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै ‘क्यूआर कोड’सहितको ‘नवप्रवर्तन’ सेवा सञ्चालनमा ल्याएको हो ।

प्रहरीले सार्वजनिक गरेको क्यूआर कोड स्क्यान गरेपछि पर्साका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताए ।

उनका अनुसार parsatourism.pages.dev वेबसाइटमार्फत पनि पर्यटकले आवश्यक सूचना लिन सक्नेछन् ।

वेबसाइटमा पर्यटकीय गन्तव्यको परिचयसँगै सम्बन्धित स्थानसम्म पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, गुगल म्याप, नजिकको प्रहरी कार्यालय र सम्पर्क नम्बरसमेत राखिएको छ ।

यस्तै, पर्यटकले घुम्न गएको स्थानबाट वीरगन्ज फर्किन लाग्ने अनुमानित समय, खाना तथा नास्ताका लागि उपलब्ध होटल, रेस्टुरेन्ट तथा रिसोर्ट, बसोबासका सुविधा र नजिकका अस्पतालबारे पनि जानकारी लिन सक्नेछन् ।

पर्यटकलाई यात्रा तथा गन्तव्यका विषयमा आवश्यक सूचना खोज्न छुट्टाछुट्टै ठाउँमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै माध्यमबाट आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको प्रहरीको भनाइ छ ।

पर्साका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै जिल्लामा आउने पर्यटकको सुरक्षा र सहजीकरणमा समेत यसले सहयोग पुग्ने अपेक्षा प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार क्यूआर कोड स्क्यान गरेर वा अनलाइन साइट प्रयोग गरेर पर्यटकले आफूलाई आवश्यक सूचना जुनसुकै समयमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै