वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव जलवायु अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार मुख्यमन्त्री यादव र मधेश प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव सोमबार थाइ एयरमार्फत मनिला प्रस्थान गरेका हुन् ।
मनिलामा ३० र ३१ गते सम्म आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६’ (CAIP2026) मा उनीहरू सहभागी हुनेछन् ।
भ्रमणका क्रममा नेपाल सरकार तथा मधेश प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने जनाइएको छ ।
जलवायु परिवर्तनका कारण मधेश प्रदेशले पछिल्लो समय बाढी, डुबान, सुख्खालगायत विभिन्न जोखिमको सामना गरिरहेको छ ।
सम्मेलनमा यस्ता जलवायुजन्य जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायबारे अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने र मधेश प्रदेशका प्राथमिकताहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य तथा लगानीका सम्भावनाबारे छलफल गर्ने अवसरका रूपमा पनि सम्मेलनलाई लिइएको छ ।
मधेश प्रदेशले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण गर्दै प्रदेशलाई सुरक्षित, दिगो र समृद्ध बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय सहकार्य र लगानीको खोजी गरिरहेको जनाएको छ ।