जनकपुर। जनकपुरदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच छलफल सुरु भएको छ ।
नेपाल रेल्वे कम्पनी, भारतीय रेल्वे, भन्सार, अध्यागमन तथा सुरक्षा निकायका अधिकारीबीच बिहीबार भारतको जयनगरमा पहिलो चरणको छलफल भएको हो ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा भएको बैठकमा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वतयारीबारे छलफल भएको थियो ।
बैठकमा रेल लिङ्क तथा सिग्नलिङ प्रणाली, यात्रु आवागमन, अध्यागमन र भन्सार जाँच, यात्रुका लागि आवश्यक सुविधा तथा सुरक्षा व्यवस्थापनका विषयमा छलफल भएको पराजुलीले जानकारी दिए ।
विशेष रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा समेत सैद्धान्तिक सहमति भएको बताइएको छ ।
छलफलमा दुवै देशका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी अधिकारी सहभागी थिए ।
बैठकपछि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए ।
जनकपुरधामलाई अयोध्यासँग रेलमार्फत जोड्ने योजनालाई नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारसँग जोडेर हेरिएको छ ।
रेल सेवा सञ्चालनमा आएमा जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
जनकपुरधामलाई सीताको जन्मभूमि तथा अयोध्यालाई भगवान् रामको नगरीका रूपमा लिइने भएकाले यी दुई धार्मिक सहरलाई प्रत्यक्ष रेल सेवाले जोड्दा रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यस्तै, धार्मिक पर्यटकको आवागमन बढेसँगै दुवै देशका धार्मिक तथा सांस्कृतिक गन्तव्य आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै कुर्था र बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
यही रेल पूर्वाधारलाई उपयोग गर्दै अयोध्यासम्म विशेष रेल सेवा विस्तार गर्ने विषयमा छलफल अघि बढाइएको हो ।रासस