ट्रेन्डिङ

भोटेकोशी बाढीमा हराएका मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

वीरगन्ज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् ।

बाढीमा परेर मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीका अनुसार अझै १६२ जना सम्पर्कविहीन छन् ।

सम्पर्कमा आएकामध्ये पर्साको वीरगन्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान तथा बाराका सत्यम राम र रुपेश गुप्ता रहेका छन् ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

सर्लाहीका लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सम्पर्कमा आएका छन् ।

महोत्तरीका जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, विपीनकुमार मण्डल र श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरही नगरपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव तथा बर्दिबासका विकास भारती पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाका सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर एवं वडा नम्बर ११ का सुशान्त यादव सम्पर्कमा आएका छन् ।

सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार हालसम्म सप्तरीका ४८, पर्साका ३८, रौतहटका १३, बाराका २३, सर्लाहीका १८, महोत्तरीका १०, धनुषाका ७ र सिरहाका १२ जना अझै सम्पर्कविहीन छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि उत्पन्न विपद्का कारण मधेस प्रदेशका विभिन्न जिल्लाका नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको सूचना आउन थालेपछि प्रहरीले उनीहरूको विवरण संकलन गरिरहेको छ ।

बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन विवरण संकलनको काम भइरहेको डीआईजी अधिकारीले बताए ।

प्रहरीले प्राप्त विवरणका आधारमा सम्पर्कविहीनहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै