वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले रसुवालगायत बाढी तथा पहिरो प्रभावित जिल्लाका पीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवले बिहीबार बिहान बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गाउँपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार पछिल्लो समय रसुवासहित विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।
विपद्का कारण प्रभावित नागरिकको अवस्था दयनीय रहेकाले स्थानीय सरकारका तर्फबाट मानवीय सहयोग गर्ने निर्णय गरिएको हो।
अध्यक्ष यादवले भने, ‘विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु सबैको दायित्व हो। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ।’
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री कार्यालयअन्तर्गतको राहत कोषमा जम्मा गर्ने वा सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी राहतका लागि उपलब्ध गराउने तयारी गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय, स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरिरहेका छन्।
सखुवा प्रसौनी गाउँपालिकाले पनि विपद्को समयमा आफ्नो स्थानीय तहबाट सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
गाउँपालिकाले प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने गरी रकम उपलब्ध गराउने बताएको छ।