वीरगन्ज । सडक विस्तारका क्रममा नालामा थुप्रिएको भग्नावशेषका कारण वीरगन्जका विभिन्न स्थान शुक्रबार रातिको वर्षापछि जलमग्न भएका छन्।
पानीको निकास अवरुद्ध भएपछि महानगरपालिकाले शनिबार बिहानैदेखि पानी निकासका लागि एक्सन टिम परिचालन गरेको छ।
सडक विस्तारका क्रममा भत्काइएका घरबाट निस्किएको ढुङ्गा, इँटा, माटो तथा अन्य भग्नावशेष समयमै व्यवस्थापन हुन नसक्दा मुख्य सडकका नालाहरू जाम भएका हुन्।
त्यसपछि परेको वर्षाको पानी निकास हुन नसक्दा मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्र जलमग्न भएका छन्।
डुबानको समस्या समाधान गर्न महानगरपालिकाले एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक र सफाइकर्मीको टोली परिचालन गरेको छ।
टोलीले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर तथा एक दर्जनभन्दा बढी सफाइकर्मीको सहयोगमा नाला सफा गर्ने र पानीको निकास खुलाउने काम गरिरहेको छ।
संयोजक मियाका अनुसार सडक विस्तारका क्रममा घर भत्काउँदा निस्किएका ढुङ्गा, इँटा र माटोका गेग्रान नालामा थुप्रिएपछि अधिकांश नाला जाम भएका छन्।
यही कारण रातिको वर्षाको पानी सहज रूपमा बग्न नसकेको उनले बताए।
उनले नागरिकलाई परेको असुविधा हटाउन र पानीको निकासलाई सहज बनाउन एक्सन टिम निरन्तर खटिएको जानकारी दिए।
सडक विस्तारपछि निस्किएको मलबा अझै सडक किनारमा थुप्रिएको तथा बिजुली र इन्टरनेटका तारसमेत अस्तव्यस्त अवस्थामा रहेकाले वीरगन्जको मुख्य बजार क्षेत्र अव्यवस्थित बनेको छ।
नाला जाम, हिलो र डुबानका कारण स्थानीय बासिन्दा तथा यात्रुहरू दैनिक आवतजावतमा सास्ती खेप्न बाध्य भएका छन्।
महानगरपालिकाले भने नाला सफाइ कार्यलाई तीव्र बनाइएको र पानीको निकास सहज बनाउँदै सहरलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ।