वीरगन्ज। तलबको मागलाई लिएर महानगरपालिका कार्यालयमा देखिएको तनाव बिहीबार दिउँसो वार्तामार्फत साम्य भएको छ।
कर्मचारी र महानगर प्रशासनबीच जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो।
स्थानीय निकाय कर्मचारी संघ, वीरगञ्ज महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले बिहानदेखि जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका थिए।
उनीहरूले कार्यालय परिसरमा धर्ना दिँदै केही समय महानगरको नियमित सेवा तथा प्रशासनिक कामकाज प्रभावित बनाएका थिए।
आन्दोलन सुरु भएपछि कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र कर्मचारी प्रतिनिधिबीच छलफल भएको थियो।
छलफलका क्रममा तत्काल जेठ महिनाको तलब निकासा गर्ने तथा बाँकी असार महिनाको तलब उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति जुटेको महानगर स्रोतले जनाएको छ।
सहमतिसँगै कर्मचारीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् भने प्रभावित सेवा प्रवाह पनि पुनः नियमित भएको छ।
कार्यवाहक नगर प्रमुख आलमले कर्मचारीका मागप्रति महानगर प्रशासन जिम्मेवार रहेको बताउँदै आर्थिक व्यवस्थापन मिलाएर तलब भुक्तानीको प्रक्रिया अघि बढाइरहेको बताएका छन्।
उनले जनतालाई प्रत्यक्ष असर पर्ने गरी सेवा अवरुद्ध हुनु उपयुक्त नभएको उल्लेख गर्दै यस्ता विषय संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्।
महानगरका अनुसार कार्यवाहक प्रमुख आलमले जिम्मेवारी सम्हालेपछि यसअघि लामो समयदेखि रोकिएको तलब भुक्तानीलाई प्राथमिकतामा राखेका थिए।
सो क्रममा स्थायी कर्मचारीहरूको तीन महिनाको र करार कर्मचारीहरूको चार महिनासम्मको बक्यौता तलब निकासा गरिएको महानगरको दाबी छ।
महानगर स्रोतका अनुसार निलम्बित नगर प्रमुख राजेशमान सिंहको कार्यकालमा आर्थिक व्यवस्थापन कमजोर हुँदा स्थायी कर्मचारीहरूले चार महिनासम्म र करार कर्मचारीहरूले पाँच महिनासम्म तलब पाउन सकेका थिएनन्।
त्यसपछि रोकिएको अधिकांश बक्यौता भुक्तानी गरिए पनि जेठ र असार महिनाको तलब बाँकी रहेपछि कर्मचारीहरूले आन्दोलन थालेका थिए।
वार्ताबाट सहमति जुटेपछि आन्दोलन तत्कालका लागि टुंगिएको छ भने वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण प्रशासनिक सेवा र दैनिक कामकाज पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।