वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
लामो समयदेखि चलिरहेको आन्तरिक रस्साकस्सीपछि सोमबार बिहानदेखि निर्वाचन प्रक्रिया औपचारिकरूपमा अघि बढाइएको हो।
रास्वपा निर्वाचन कार्यालय पर्साले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान पौने ९ बजेदेखि विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ।
जिल्ला सभापतिसहित जिल्ला कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
त्यसपछि उम्मेदवारमाथि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरिने कार्यतालिका रहेको छ।
अन्तिम नामावली प्रकाशनपछि दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाइएको छ।
मतदान सम्पन्न भएपछि मतगणना गरी नयाँ नेतृत्वको घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।
रास्वपा पर्साको नेतृत्व चयनलाई लिएर पार्टीभित्र लामो समयदेखि विभिन्न समूहबीच सहमति जुटाउने प्रयास भए पनि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन गर्ने निर्णय भएको हो।
निर्वाचन प्रक्रियासँगै पर्सा जिल्लामा रास्वपाको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा कार्यकर्ता र समर्थकमाझ चासो बढेको छ।