बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित त्रिवेणी स्पेनिङ मिल्समा आगलागी भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको मिल्समा शुक्रबार बिहान आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएपनि यसको यकिन कारण नखुलेको जिल्ला प्रहरी कार्यालयले जनायो ।
घटनास्थलमा वीरगन्ज महानगरपालिकाबाट दुई बुलेटसहित ३ वटा दमकलहरु पुगेका छन् । घटनास्थलमा वीरगन्ज महानगरको दुई वटा बुलेट, नेपाली सेनाको दमकल, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिकाका दमकलहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको संयुक्त टोलीले आगो निभाउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ। यस्तै आगो निभाउन सयौँको सङख्यामा स्थानीयबासिन्दासमेत जुटेका छन् ।
आगलागीबाट करोडौँ मूल्य बराबरको क्षति भएको जनाइन्छ । यद्यपी आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले बतायो ।
