लोसपा सांसद ‘फ्लोर क्रस’ को आशंकाले मधेश सरकारको विश्वासको मत अनिश्चित

जनकपुर । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको विश्वासको मत प्रक्रिया अन्तिम समयमा आएर अनिश्चित बनेको छ ।

तत्कालीन लोसपाबाट निर्वाचित केही प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने सूचना आएपछि सत्ता गठबन्धनभित्र तीव्र छलफल सुरु भएको स्रोतले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको मधेश प्रदेशसभा बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन ।

बैठक ढिलाइ हुनुको मुख्य कारण सत्ता पक्षभित्रको आन्तरिक समीकरण मिलाउने प्रयास रहेको बताइएको छ ।

उच्च स्रोतका अनुसार सरकारको पक्षमा मतदान गराउन सत्ता गठबन्धनले तत्कालीन लोसपाका सांसदहरूसँग अन्तिम समयसम्म संवाद र छलफल गरिरहेको छ ।

केही सांसदले मतदानका क्रममा फरक निर्णय लिन सक्ने संकेत पाएपछि विश्वासको मत प्रक्रिया नै केही समयका लागि स्थगित गर्ने विकल्पमाथि समेत छलफल भइरहेको जनाइएको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले आजै विश्वासको मत लिने तयारी गरेको थियो ।

तर, सम्भावित ‘फ्लोर क्रस’ ले सत्ता गठबन्धनलाई दबाबमा पारेको छ ।

गत वैशाख २२ गते जनमत पार्टी ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।

नेपालको संविधानअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले पनि आन्तरिक छलफलमा व्यस्त रहेको र विश्वासको मत प्रक्रिया अघि बढाउने वा केही समय पछाडि सार्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै