जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले सरकारप्रतिको समर्थन फिर्ता लिएको छ।
पार्टीले यससम्बन्धी औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको पुष्टि भएको छ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भइसकेको छ।
पत्र ढिलो समयमा कार्यालयमा आइपुगेकाले यसबारेको औपचारिक जानकारी भने केहीबेरपछि सार्वजनिक गरिने उनले जानकारी दिए।
मधेस प्रदेशसभामा १२ सदस्य रहेको जनमत पार्टी हाल सरकारमा सहभागी छ।
पार्टीले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय सम्हाल्दै आएको छ।
जनमतबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन्।
समर्थन फिर्ताको विषयमा प्रमुख सचेतक चन्दन सिंहले पुष्टि गरिसकेका छन्।
तर, संसदीय दलका नेता एवं अर्थमन्त्री महेश यादवले भने आफूलाई यसबारे जानकारी नभएको बताएका छन्।
केही समययता जनमतले समर्थन फिर्ता लिन सक्ने चर्चा भइरहे पनि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार स्थिर रहने दाबी गर्दै आएका थिए।
यसअघि पनि जनमत पार्टीले आफ्नै नेतृत्वमा बनेको सरकार ढालेको थियो।
जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरे पनि पछि पद नछाडेपछि पार्टीले समर्थन फिर्ता लिएर सरकार परिवर्तन गराएको थियो।
त्यसपछि जनमत कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको थियो।