ट्रेन्डिङ

इरानमा पक्राउ परेका अमृत झाकी दिदीले भनिन् – सरकारले झुट बोल्यो, भाइ अझै हिरासतमै छ

काठमाडौँ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै पनि जेलमै रहेको तथ्य सार्वजनिक भएको छ।

आज उनकी दिदी पूजा झासँग भएको कुराकानीपछि यो कुरा पुष्टि भएको हो। उनका अनुसार अमृतले फोनमार्फत आफू अझै हिरासतमा रहेको जानकारी दिएका छन् ।

यसअघि नेपाल सरकारले भने अमृत रिहा भइसकेको घोषणा गरेको थियो। तर वास्तविकता फरक देखिएको भन्दै परिवारले आश्चर्य व्यक्त गरेको छ। पूजा झाका अनुसार, अमृतले त्यहाँका वकिलमार्फत अनुसन्धान अझै जारी रहेको जानकारी पाएको बताएका छन् ।

केही दिनअघि परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत अमृत रिहा भएको बताएका थिए। मन्त्री खनालका अनुसार, तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत इरानको स्थानीय अदालतबाट रिहाइको आदेश आएको भन्ने अनौपचारिक सूचना मन्त्रालयमा प्राप्त भएको थियो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आदेशको विस्तृत विवरण माग गरिएको र अमृतलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउने तयारी भइरहेको उल्लेख गरिएको थियो। साथै, तेहरानस्थित अनररी कन्सुलर जनरल र दोहास्थित नेपाली दूतावासले आवश्यक पहल गरिरहेको जनाइएको थियो।

तर रिहाइको खबर सार्वजनिक भएको दुई दिन बितिसक्दा पनि अमृत परिवारको सम्पर्कमा आएका थिएनन्। सुरुवातमा खुसी भएका परिवारजन पछि पुनः चिन्तित बनेका थिए।

अन्ततः आज उनकी दिदीले अमृत अझै इरानमै हिरासतमा रहेको पुष्टि गरेकी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै