काठमाण्डौँ । दुबई जान लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त लेखेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई जना अध्यागमन अधिकृत पदमुक्त भएका छन् ।
अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पदमुक्त गराएर छानबिन सुरु गरेको हो ।
केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै रोजगारी पूर्णतया निषेध गरिएको भन्ने बेहोरा लेखिएको भेटाएपछि विभाग एक्सनमा उत्रिएको हो।
अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई कुनै पनि प्रकारको शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति वा निर्णय छैन।
यस विषयमा विभागले गठन गरेको छानबिन समितिले विस्तृत अध्ययन गरिरहेको जनाइएको छ ।
