काठमाडौं । डेरामा बस्ने व्यक्तिहरूको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, सम्भावित अपराध रोकथाम गर्न तथा घटना भइहालेमा व्यक्तिको पहिचान गर्न सहज बनाउन यस्तो आग्रह गरिएको हो।
उनले एउटै घरमा लामो समयदेखि बसिरहेका भाडावालाको बारेमा घरधनीलाई पर्याप्त जानकारी नहुने अवस्थाले समस्या सिर्जना गर्ने बताए।
‘कहिलेकाहीँ चार–पाँच वर्षदेखि बसिरहेका व्यक्तिबारे पनि घरधनीलाई केही थाहा हुँदैन। यदि त्यस्तो व्यक्तिले कुनै अपराध गर्यो भने पहिचान गर्न कठिन हुन्छ,’ उनले भने।
प्रहरीले यो व्यवस्था अनिवार्य नभएको स्पष्ट पारेको छ। तर, भाडावालाको सामान्य विवरण राख्दा कुनै घटना हुँदा निर्दोष व्यक्तिहरू अनावश्यक सोधपुछ वा झन्झटमा पर्नु नपर्ने विश्वास प्रहरीको छ।