बीरगन्ज । बीरगन्जमा दुइ दिने ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ विषयक फोटो प्रदर्शनी हुने भएको छ ।
नेपालको महिलावादी इतिहास सम्बन्धि देशव्यापी फोटो प्रदर्शनी अन्र्तगत यहि कात्तिक २ गतेदेखि ४ गतेसम्म बीरगन्जमा हुने भएको हो ।
बुधबार बीरगन्जमा एक पत्रकार सम्मेलनको आयोजना गरेर यसबारेमा जानकारी गराइएको हो । त्रिजुद्ध मावि परिसरमा ३ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न कार्यशाखा, छलफल तथा सामुदायिक संवादहरु समेत गरिने जनाइएको छ ।
यस प्रदर्शनीमार्फत महिलाले पु¥याएका योगदानलाई प्रकाश पार्दै समाजमा उनीहरु अस्तित्व स्थापित गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ । दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु यस फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताइएको छ ।
यसैगरी ग्रामीण र शहरी क्षेत्रका महिलाहरुको इतिहासको अभिलेखलाई सान्दर्भिक एवम् पहुँचयोग्य बनाउने, ऐक्यवद्धता निर्माण गर्न तथा उनीहरुको योगदान संकलन गरी सम्झना गर्न साझा मञ्च प्रदान गर्नु समेत फोटो प्रदर्शनीको प्रमुख उद्देश्य रहने आयोजकले जनाएको छ ।
प्रदर्शनी पहिलो चरण अन्र्तगत कात्तिक २–४ बीरगन्ज, ८–१० जनकपुरमा गरिनेछ । यस्तै दोस्रो चरणमा बर्दिया र नेपालगन्ज, तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा, चौथो चरणमा दाङ र रोल्पा, पाँचौं चरणमा इलाम र झापा, छैटौं चरणमा विराटनगर, धरान, र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा प्रदर्शनी आयोजना गरिने बताइएको छ ।