जनकपुर । महोत्तरीमा सवारी दुर्घटना हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ।
जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा मंगलबार बिहान विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुबै मोटरसाइकलमा आगो सल्किँदा तीन जना विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको हो।
मृतकहरू माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किँदै गरेका विद्यार्थी रहेको प्रारम्भिक जानकारी आएको छ।
तर, हालसम्म उनीहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बर प्लेटसमेत नचिनिने अवस्थामा पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा थप तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ।
उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।