ट्रेन्डिङ

पर्सामा एसईई कपी जाँच तीव्र: अङ्ग्रेजी विषयको आजै ‘क्लोज’, अन्य विषय लाइनमा

वीरगन्ज । पर्सामा अङ्ग्रेजी विषयको कपी जाँच आज साँझसम्म सम्पन्न हुने भएको छ।

जाँच सकिएसँगै कपीहरू सम्बन्धित केन्द्रमा पठाइने तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ ।

इकाइ प्रमुख मोतीप्रसाद भट्टराईले अङ्ग्रेजी विषयको कपी जाँच प्रक्रिया अन्तिम चरणमा रहेको जनाए । यस्तै उनले नेपाली विषयको कपी जाँच भोलि र गणितको पर्सिसम्म सक्ने लक्ष्य लिएको बताए ।

यद्यपी, हालसम्म कपी जाँच भइसकेको भन्नेबारे यकिन नभएको उनको भनाइ छ । उनले भने, ‘कपी जाँच प्रक्रिया बन्डल–बन्डलमा शिक्षकहरूलाई बाँडफाँड गरेर गरिँदैछ, त्यसैले अहिलेसम्म यति वटा कपि जाँच भइसकेको छ भन्ने विवरण छैन । तर शिक्षकहरुले निरन्तर जाँच गर्दै हुनुहुन्छ, आज साँझसम्म सक्काउने उहाँहरुको टार्गेट छ ।’

यहि चैत्र २० गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सम्पन्न अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएलगत्तै कपी परीक्षण कार्य अघि बढाइएको थियो ।

सरकारले हरेक विषयको परीक्षाको कपी जाँच तीन दिनभित्र सम्पन्न गरी बोर्डमा पठाउन दिएको आदेश बमोजिम यहांसमेत सोही रणनीति पालना गरिएको हो ।

भट्टराईका अनुसार नृसिंह मावि, सिद्धार्थ मावि, श्री नेरामवि श्रीपुर र त्रिजुद्ध मावि गरी यि ४ परीक्षण केन्द्रमा ५५ जना विषयगत शिक्षकहरू कपी परीक्षणमा खटिएका छन् ।

यस वर्ष पर्सा जिल्लाभरबाट १० हजार ७ सय ३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै