ट्रेन्डिङ

आजबाट देशभर एसईई सुरु, एक महिनाभित्र नतिजा ल्याउने तयारी

वीरगन्ज। नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदै विद्यार्थीहरू औपचारिक रूपमा परीक्षामा सहभागी भएका छन् ।

यस वर्षको एसईईमा देशभित्रका साथै वैदेशिक परीक्षा केन्द्रसमेत गरी ५ लाख १२ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड ले जनाएको छ ।

बोर्डका अनुसार परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष योजना लागू गरिएको छ ।

परीक्षा प्रणालीमा सुधार गर्दै यसपटक उत्तरपुस्तिका परीक्षण प्रक्रियालाई विकेन्द्रीकृत गरिएको छ ।

साथै, नतिजा प्रकाशनलाई छिटो बनाउन केन्द्रित रणनीति अपनाइएको छ ।

सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

सस्मित पोखरेल को निर्देशनमा परम्परागत परीक्षण प्रणालीमा परिवर्तन गरिएको हो ।

अघिल्ला वर्षहरूमा एक प्रदेशका उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर गोप्य केन्द्रमार्फत परीक्षण गर्ने अभ्यास थियो, जसले ढिलाइ निम्त्याउने गरेको थियो ।

तर यसपटक परीक्षा भएको क्षेत्रमै परीक्षण केन्द्र निर्धारण गरिएको छ ।

एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नयाँ व्यवस्थाले समय बचत गर्नुका साथै स्थानीय स्तरमै शिक्षकहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

“नतिजा छिटो सार्वजनिक गर्नु हाम्रो प्राथमिकता हो,” उनले बताएका छन् ।

सुरक्षा र निष्पक्षतामा प्रश्न उठ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बोर्डले वैकल्पिक व्यवस्था पनि गरेको छ ।

कुनै केन्द्रमा आवश्यक विषयका शिक्षक उपलब्ध नभएमा वा सुरक्षा चुनौती देखिएमा सम्बन्धित उत्तरपुस्तिका अन्य सुरक्षित स्थानमा सारेर परीक्षण गरिने व्यवस्था मिलाइएको जनाइएको छ ।

नयाँ मोडालिटीसहित सुरु भएको यस वर्षको एसईईले परीक्षा व्यवस्थापन र नतिजा प्रणालीमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै