काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको परिवारसँग जोडिएको सम्पत्तिबारे अनुसन्धानलाई तीव्र बनाएको छ।
यसक्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरी विस्तृत छानबिन अघि बढाइएको स्रोतले जनाएको छ।
अनुसन्धानकै बीच, बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको भवन भत्काउने काम प्रहरीले तत्कालका लागि रोकेको छ।
प्रमाण नष्ट हुन सक्ने आशंका देखिएपछि उच्चस्तरीय निर्देशनमा उक्त काम रोकिएको सुरक्षा स्रोतको भनाइ छ।
यसअघि नै देउवा परिवारविरुद्ध अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको थियो।
अहिले सोही उजुरीसँग सम्बन्धित थप प्रमाण संकलन र विश्लेषणको काम भइरहेको बताइएको छ।
प्रहरी तथा गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार पछिल्लो डेढ वर्षको अवधिमा जयवीर देउवा लगायत नजिकका आफन्तका नाममा करिब ७३ रोपनी जग्गा खरिद गरिएको विवरण फेला परेको छ।
त्यस्तै, प्रदिपशम्सेर जबरा र भूषण राणासँग सम्बन्धित आर्थिक कारोबारको विवरण पनि संकलन भइरहेको जनाइएको छ।
स्रोतका अनुसार, आरजु राणा देउवाको नाम जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमितता सम्बन्धी मुद्दासमेत यस अनुसन्धानको दायरामा परेको छ।
उक्त प्रकरणमा तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएका निर्णयपछिको आर्थिक गतिविधि पनि छानबिनमा समेटिएको बताइएको छ।
बूढानीलकण्ठस्थित एउटै कम्पाउण्डभित्र निर्माण गरिएका दुईवटा बंगला सम्बन्धी विषयमा यसअघि नै उजुरी परेको थियो।
जेनजी आन्दोलनका क्रममा सो निवासमा तोडफोड तथा आगजनीसमेत भएको थियो।
त्यसपछि क्षतिग्रस्त संरचना हटाउन देउवा परिवारले केही दिनयता कामदार परिचालन गरेको भए पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरी स्रोतका अनुसार, “भवनसँग सम्बन्धित प्रमाण हराउने जोखिम देखिएकाले तत्काल भत्काउने कार्य रोक्न निर्देशन दिइएको हो,” र अब सम्पूर्ण प्रक्रिया अनुसन्धानको नतिजाअनुसार अघि बढाइनेछ।