ट्रेन्डिङ

मधेश प्रदेश ‘हाइ अलर्ट’मा: १० हजारभन्दा बढी प्रहरी परिचालन, राजनीतिक गतिविधिमा कडा निगरानी

जनकपुर । देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि मधेश प्रदेशभर सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेशका सबै जिल्लामा ‘हाइ अलर्ट’ जारी गर्दै प्रहरी परिचालन तीव्र बनाइएको हो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया का अनुसार शनिबार बिहानैदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाइ अलर्टमा बस्न सर्कुलर जारी गरिएको हो।

उनले वर्तमान परिस्थितिलाई संवेदनशील ठहर गर्दै मातहतका सबै इकाइलाई सूक्ष्म रूपमा गतिविधि निगरानी गर्न निर्देशन दिइएको बताए।

“बिहानको निर्देशनपछि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)हरूसँग समन्वय गरी व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ,” डीआईजी थपलियाले भने, “राजनीतिक गतिविधिबारे सूचनाहरू संकलन गर्ने र आवश्यक परे तत्काल प्रतिक्रिया दिने तयारीमा हामी छौं।”

मधेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा करिब १० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ।

साथै, आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ।

प्रहरीका अनुसार भदौ महिनामा भएको जेनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा उच्चस्तरीय गिरफ्तारी भएपछि विरोध प्रदर्शन र आन्दोलनका कार्यक्रम हुन सक्ने आकलन गरिएको छ।

यसैलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा निगरानी अझ कडा पारिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै