ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्ने विषयमा गृहमन्त्री गुरुङको छलफल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिम्मेवार भूमिका नखेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्ने विषयमा सरकार आन्तरिक तयारीमा जुटेको छ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शुक्रबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल सँग यस विषयमा छलफल गरेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार दुई घण्टादेखि जारी उक्त छलफलमा सुरक्षा निकायको तयारी र कानुनी प्रक्रियाबारे समीक्षा भइरहेको छ।

यसअघि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा तत्कालीन सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस समेत गरेको छ।

उक्त आन्दोलनमा ७६ जनाको ज्यान गएको तथ्य सार्वजनिक भइसकेको छ।

उल्लेखनीय छ, जेनजी आन्दोलनका अगुवा मध्येका एक रहेका गुरुङले मन्त्री बन्नुअघि नै दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।

अहिले गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले सोही विषयलाई प्राथमिकतामा राख्दै कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्।

सरकारको निर्देशनअनुसार अब पूर्व सरकार प्रमुखहरूमाथि कानुनी प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ, जसले राजनीतिक वृत्तमा थप तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै