काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको प्राथमिकता र कार्यदिशा स्पष्ट पार्ने निर्णयहरू गरेको हो।
बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
अब सरकारका धारणा र निर्णयहरू सार्वजनिक गर्ने मुख्य जिम्मा पोखरेलले सम्हाल्नेछन्।
त्यस्तै, बैठकले गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी आन्दोलन’ सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ।
सरकारको तर्फबाट उनीहरूको योगदानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले सुशासन र प्रभावकारी कार्यसम्पादनका लागि तयार पारिएको ‘१०० कार्यसूची’ पनि स्वीकृत गरेको छ।
उक्त कार्ययोजना भोलिसम्म सार्वजनिक गरिने जानकारी दिइएको छ, जसलाई सरकारको आगामी कामको रोडम्यापका रूपमा हेरिएको छ।
यस्तै, भदौ २३–२४ को प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सुरक्षा निकायसँग सम्बन्धित विषयमा भने छुट्टै अध्ययन समिति गठन गरिने र सो समितिको सिफारिसका आधारमा आवश्यक निर्णय गरिने सरकारको तयारी रहेको जनाइएको छ।