वीरगन्ज। प्रतिनिधिसभा सदस्यमा निर्वाचित पर्सा–१ का सांसद हरि पन्तले सपथ ग्रहण गर्नुअघि जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइको परिवारसँग भेट गरेका छन्।
सपथ ग्रहणका लागि जानुअघि सांसद पन्त सहिद आलमको घरमै पुगेर उनकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा उनले सहिद परिवारप्रति सम्मान प्रकट गर्दै परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा आगामी बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सांसद पन्तले जेन्जी आन्दोलनका कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै आन्दोलनमा सहादत प्राप्त गर्नेहरूको बलिदानको उच्च सम्मान गरिने बताए।
उनले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत प्रकट गरेका थिए।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंको कोटेश्वरमा गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो।
सहिद आलमको परिवारमा श्रीमती, बुबा–आमा तथा भाइहरू रहेका छन्।