वीरगन्ज । राजधानी काठमाडौँमा पछिल्ला दिनमा वायु प्रदूषण ह्वातै बढेको देखिएको छ ।
मंगलबार दिउँसो १ बजेको मापन अनुसार काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा अग्रस्थानमा छ । काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीको दोस्रो स्थानमा छ ।
काठमाडौँ उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण अहिले खराब स्तरमा पुगेको छ । काठमाडौँको प्रदूषण निकै अस्वस्थकर तहमा पुगेको वातावरण विभागले जनाएको छ ।
वातावरण विभागका अनुसार अहिले वातावरण धुम्म रहने, हावाको बहाव राम्रोसँग नचल्दा प्रदूषित हावा बाहिरिन पाएको छैन । काठमाडौंमा पछिल्लो एक सातादेखि उपत्यकाको वायु प्रदूषण बढेको जनाइएको छ ।
काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । यस्तै उपत्यकामा सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ ।
दिउँसो १ बजेको मापन अनुसार लाजिम्पाटको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२६ देखिएको छ । त्यस्तै रानीबारी मापन केन्द्रका अनुसार सो क्षेत्रको एयर क्वालिटी इन्डेक्स १९६ छ ।
क्षेत्रपाटीको एयर क्वालिटी इन्डेक्स १८८ छ । उपत्यका बाहिर मध्यपश्चिमको वीरेन्द्रनगरमा सबैभन्दा बढी वायु प्रदूषण देखिएको छ । सो स्थानमा एयर क्वालिटी इन्डेक्स २३२ छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रको धनगढीमा एयर क्वालिटी इन्डेक्स २०९ देखिएको छ ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा भारतको दिल्ली २४७ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् ।