वीरगन्ज । मधेस प्रदेशमा ६० प्रतिशत मत खसेको छ ।
प्रदेशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा करिब ६० प्रशतले मतदान गरेका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालयका प्रदेश प्रहरी प्रवक्ता कमल थापाले यहां उत्साहजनक ढंगबाट मतदान चलेको जनाए । उनले भने, ‘प्रदेशभरबाट ६० प्रतिशत मत खसेको अनुमान गरेका छौं, यद्यपी जिल्लाहरुबाट विवरण संकलन कार्य भइरहेकाले यकिन खुल्न बाँकी छ ।
उनका अनुसार ८ वटै जिल्लाबाट जिल्लागत रिपोर्टिङ भइसकेपछि मात्र खसेको मतबारे यकिन भन्न सकिन्छ ।
उनले प्रदेशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाए । ‘त्यस्तो कुनै अप्रिय घटना भएन, मतदान स्थगित भएन, सुपक्षा निकायको कडा निगरानीबिच प्रदेशभर नै समग्रमा शान्तरुपले मतदान प्रक्रिया सम्पन्न भयो’, उनले भने ।