काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको मत परिणाम २४ घण्टाभित्रै सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिए ।
उनले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताए । त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ ।
आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।
विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको बताए ।