वीरगन्ज । होलीमा उच्छृङखल गतिविधि गरेको आरोपमा पर्साबाट ५ जना पक्राउ परेका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णय विपरित गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सबै जना पुरुष छन् । उनीहरुलाई जबरजस्ती रङ लगाउने, होहल्ला गरेको लगायतका आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी हरि बहादुर बस्नेतले बताए ।
यस्तै प्रहरीले नियम विपरित गएको भन्दै ७० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएका उनले जनाए ।
उनका अनुसार ३ जना सवार भइ हिड्ने, बडी स्पिडमा बाइक चलाउने, हेलमेट नलगाउने, मदिरा सेवन गरी सवारी चलाउने लगायतका गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतका राखिएको छ ।
प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष यहाँ शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।