वीरगन्ज । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आयोगको नीति अनुसार मौन अवधि सोमबार राती १२ बजेदेखि लागु भइसकेको छ । मौन अवधि सुरु भएसंगै पर्सा क्षेत्र १ को चुनावी माहोल अझै रोचक बनेको छ ।
मौन अवधिमा उम्मेदवारले आफ्नो कुनै पनि प्रकारको सभा, जुलुस, भाषण, घरदैलो, समीक्षा बैठक, मत माग्ने गतिविधि वा निर्वाचनलाई प्रभाव पार्ने किसिमका प्रचारकार्य गर्न पाइने छैन । तर मौन अवधिको सन्नाटाभित्रै मतदाताको मनोविज्ञान र अंकगणितको खेल उत्कर्षमा पुगेको छ ।
निर्वाचनका लागि आजदेखि दुइ दिन मात्रै बाँकी छ । निर्वाचन समयको ‘काउन्ट डाउन’ सुरु भइसक्दा उम्मेदवारले भने कसरी आफ्नो पोल्टोमा बढी भन्दा बढी मत ल्याएर निर्वाचित हुने रणनीति बुनिरहेका छन् ।
पर्सा जिल्लामा यो पटकको निर्वाचनमा हेभिवेटको लडाइँ खासगरी क्षेत्र नम्बर– १ मा देखिएको छ । अन्य क्षेत्र भन्दा पनि यो क्षेत्रमा चुनावी भीडन्त रोमाञ्चक मात्रै देखिएको छैन, विरासत जोगाउने र फर्काउने खेल सुरु भएका छन् ।
दुइपटक यही क्षेत्रबाट निर्वाचित भइसकेका प्रदीप यादवले आफ्नो बिरासत जोगाउन विभिन्न हतकन्डा अपनाइरहेका छन् भने कांग्रेसको तर्फबाट उनै प्रदीप यादवसंग २०७४ सालको निर्वाचनमा पराजित अनिलकुमार रुंग्टाले भने योपटक ‘एनी हाउ’ जित्ने रणनीतिमा छन् ।
यता नयाँ पार्टीको लहर रहेकोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट हरि पन्तले भने लहरको फाइदा उठाउँदै बाजी मार्ने दाउँमा छन् । २०७९ सालको निर्वाचनमा जसपा नेपालको टिकटबाट जितेका यादव अहिले पार्टी फेरेपछि त्यो पार्टीले नयाँ उम्मेदवार खडा गरेको छ ।
पर्सा क्षेत्र नम्बर– १ मा जसपा नेपालबाट रामनरेश यादव चुनावमा भिडेका छन् । चारजनासहित ३० जनाको यो क्षेत्रमा उम्मेदवारी परेको छ । यो क्षेत्रमा खासगरी अहिलेको निर्वाचन चार जनाबिच कडा प्रतिष्पर्धा हुने देखिन्छ । चारैजना हेभिवेटका उम्मेदवार मैदानमा उत्रेकाले कडा भीडन्त हुने चर्चा सुरु भएको छ ।
यद्यपी, निर्वाचनलाई लिएर विभिन्न खाले अड्कलबाजी सुरु भएको छ । पुरानै अनुहार दोहोरिएलान कि, नयाँ अनुहारले बाजी मार्ला ? अहिले चर्चाको विषय बनेको छ ।
कसको साङगठनिक अवस्था कस्तो ?
निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सबै भन्दा ठूलो शक्ति हो– सङ्गठन/कार्यकर्ता । अर्थात् जुन पार्टीको प्रत्येक टोलटोलमा सङगठन र कार्यकर्ता छन भने त्यसलाई निर्वाचनमा ठूलो फाइदा पुग्ने गर्दछ ।
यो हिसाबले पर्सा क्षेत्र १ मा खासगरी कांग्रेस, एमाले, जसपा नेपालको टोलटोलमा बढी सङगठन र कार्यकर्ता छन् । अझ यसमा कांग्रेस र एमालेका बढी छन् । यता नयाँ पार्टीको देशभर नै लहर रहेकोले रास्वपाप्रति भने सर्वसाधारणमा सकारात्मक अवस्था छ, केही हदसम्म सङगठन पनि छन् । जसकारण रास्वपाको पनि मैदानमा जरबजस्त उपस्थिति देखिएको छ ।
सङगठनको हिसाबले कुरा गर्ने हो भने कांग्रेस र एमालेको यो क्षेत्रमा बढी पकड भएको देखिन्छ । गएको स्थानीय तहको चुनावमा यो क्षेत्रबाट एमालेका १३ जना वडाध्यक्ष निर्वाचित छन भने कांग्रेसका ४ जना छन् । १९ वटा वडा रहेको प्रत्येक वडामा कांग्रेस र एमालेको बलियो सङगठन छन् ।
कांग्रेसको मात्रै २६७५ जना क्रियाशील सदस्य छन भने यहाँ करिब ११ हजार कांग्रेसको कोर मतदाता छन् । यसैगरी एमालेको भने १३ जना वडाध्यक्षसंगै करिब ५ हजार संङगठित सदस्य छन् । जपसा नेपालको २ वटा वडाध्यक्षसंगै करिब २५ सङगठित सदस्य छन ।
यसरी तीनवटैको बलियो पकड रहेको छ भने नयाँ पार्टीप्रतिको आकर्षण र लहरले रास्वपाको चर्चा पनि ब्यापक छ । यसको साथै यो क्षेत्रमा रास्वपाको भने नयाँ सदस्यता संख्या ४ हजार बढी रहेको रास्वपाले जनाएको छ ।
मतदाताको अंकगणित
निर्वाचन माहोल तातेसंगै आफ्नो पोल्टामा बढी भन्दा बढी भोट पार्ने खेल सुरु भएको छ । जातजातीय, साङगठनिक, कार्यकर्तासंगै अरु रणनीति अपनाएर मत तान्ने खेल चलिरहेको चर्चा चुलिएको छ । पर्साको क्षेत्र नम्बर– १ मा कुल ८९ हजार ६३८ जना मतदाता छन् ।
यो क्षेत्रमा विभिन्न जात समुदायको हिसाबमा जातीको संख्या हेर्ने हो भने सबै भन्दा बढी मुसिलम समुदायका मतदाता छन् । एक तथ्यांक अनुसार मुस्लिम समुदायका करिब १६ हजार मतदाता छन भने यादवको ८/९ हजार मतदाता रहेका छन् ।
त्यसैगरी पहाडी समुदायको ५/६ हजार मतदाता छन भने मारवाडी समुदायको करिब ५२ सय बढी मतदाता छन । अन्य जातीको मतदाता पनि चौथो अंकमै छन ।
कस्ले मार्ला बाजी ?
पर्साको चारवटै निर्वाचन क्षेत्रमध्ये एक नम्बरको फरक पहिचान छ । अर्थात् परिवर्तनशील क्षेत्रको रुपमा स्थापित छ ।
कृष्ण प्रसाद भट्टराइदेखि लिएर करिमा बेगमसम्मकालाइ यो क्षेत्रले सदनसम्म पुर्याएको छ । अर्थात् यो क्षेत्र जहिले पनि परिवर्तनको पक्षमा उभिने गरेको विगतका भोटले देखाइरहेको छ । यद्यपी, अहिलेको अवस्थाको बारेमा कुरा गर्ने हो भने योपटकको भीडन्त कडा हुने देखिएको छ ।
यसअघि जसपा नेपालबाट उठेका प्रदीप यादवले २२ हजार ५ सय ३७ मत ल्याएर निर्वाचित भएपनि अहिले उनी फरक पार्टीबाट उठेपछि त्यसमा असर पारेको छ ।
त्यसबेलाको चुनावमा जसपा नेपाल र एमालेबिच गठबन्धन हुँदा उनी कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीसंग थोरै मतले निर्वाचित भएका थिए । तर उनी फरक पार्टीबाट उम्मेदवार बनेपछि पहिलाको अवस्था बदलिएको छ । पहिला पएका मत अहिले उनी पाउने अवस्था नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
जसपा नेपाल र यादवको समुदायको भोट उनको बाडिएको छ, अहिले जसपा नेपाल र यादव समुदायका भोटबाट रामनरेश यादवले पनि पाइरहेका छन् । त्यसैगरी पहाडी समुदायका भोट अधिकांश गरी रास्वपाका उम्मेदवार हरि पन्तले पाइरहेको विश्लेषण छ ।
यता मारवाडी समुदायका भोट भने उही समुदायबाट उम्मेदवार बनेका कांग्रेसका अनिल रुंग्टाले एकक्षत्र पाइरहेको बताइन्छ ।
मुस्लिम समुदायको भोट भने कांग्रेसलाई बढी गइरहेको विश्लेषण छ । वीरगन्जमा हुने धार्मिक द्वन्द्वमा नाम अप्रत्यक्षरुपमा बढी जोडिएकोले र एमालका मुस्लिम अगुवा बसरुद्दिन अन्सारी कांग्रेसमा प्रवेश गरेकाले मुस्लिमको ८० प्रतिशत भोट कांग्रेसलाई प्राप्त भइरहेकोले चुनावी भीडन्त चोटिलो बनेको छ । राजनीतिक विश्लेषकहरुका अनुसार कांग्रेस एकमत हुँदा र मारवाडी तथा मुस्लिम समुदायसंगै अन्य समुदायबाट पनि भोट प्राप्त भइरहेकोले कांग्रेसले बाजी मार्ने धेरै सम्भावना बढेको छ ।
यता निवर्तमान सांसद यादवलाई उम्मेदवार बनाएको प्रति एमालेभित्र रहेको चरम असन्तुष्टि, यादव समुदायको भोट विवाजित तथा ठाउँठाउँमा भएको उनको विरोधका कारण उनीप्रतिको आकर्षण घटेको मात्रै देखाइरहेको छैन, भोट पनि उनको पोल्टामा कम खसिरहेको तथ्यांकले बताइरहेको छ । जुनकारण उनको चुनावी अंकगणितले यो चुनावमा असर पार्ने देखिएको डा. शुष्मा शर्मा तिवारी शर्माले बताइन ।
उनका अनुसार अहिलेको चुनाव लहर र कांग्रेस एक ढिक्का हुँदा प्रदीप यादवलाई पूरै ध्वस्त बनाएको छ । उस्तै परे कांग्रेस र रास्वपाबिच यो क्षेत्रमा भीडन्त हुने सक्ने एक खालको विश्लेषण रहेको उनको बुझाइ छ । यद्यपी, अन्तिम फैसला भने मतपेटिकाले गर्नेछ ।